रामेछाप, माघ २७ । रामेछापको सदरमुकाम मन्थली नजिकै भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको प्रहरीले जनाएको छ। रामेछापका प्रहरी निरीक्षक राजन तिमिल्सिनाका अनुसार चालकसहित आठ जना घाइते भएका छन्।
काठमाडौंबाट ओखलढुङ्गाका लागि छुटेको अरनिको यातायातको बस (प्रदेश ०१–०१–००५ ख ९९७५) मन्थली नगरपालिका–६ स्थित मसानटारमा सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको थियो।
उद्धार टोलीले नदीमा डुबेको बसबाट यात्रुहरूलाई बाहिर निकालेका थिए। घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ। मृतकहरूको सनाखत हुन अझै बाँकी रहेको प्रहरीले जनाएको छ।




