काठमाडौं, फागुन ३ । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ।
निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै नेपालले १३३ रनको योगफल तयार पार्यो। नेपालका लागि उपकप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले ऐतिहासिक प्रदर्शन गर्दै ५८ रनको अर्धशतकीय इनिङ खेले। ४७ बलको सामना गरेका उनले ३ चौका र ३ छक्का प्रहार गरे। यससँगै दीपेन्द्र टी-२० विश्वकपमा नेपालका लागि अर्धशतक बनाउने सुबास खकुरेलपछिको दोस्रो नेपाली खेलाडी बनेका छन्।
नेपाली इनिङको अन्त्यतिर सोमपाल कामीले १५ बलमा ४ चौकासहित २६ रनको अविजित पारी खेल्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्याए। दीपेन्द्र र सोमपालबीच सातौँ विकेटका लागि भएको ५४ रनको महत्वपूर्ण साझेदारी नेपालको इनिङको मुख्य आकर्षण रह्यो।
अन्य ब्याट्सम्यानहरूमा लोकेश बमले १३ तथा आसिफ शेख र गुल्सन झाले समान ११ रन जोडे पनि बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्। वेस्ट इन्डिजका लागि अनुभवी बलर जेसन होल्डरले ४ विकेट लिए भने अकिल हुसेन, म्याथ्यु फोर्डे, समर जोसेफ र रोस्टन चेजले समान १-१ विकेट हात पारे।




