काठमाडौं, फागुन ६ । आगामी निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिमको धनगढीमा ‘परिवर्तन उद्घोष सभा’ आयोजना गरी आफ्नो चुनावी अभियानको औपचारिक सुरुवात गरेको छ।
बुधबार धनगढी वडा नम्बर-१ स्थित खुला चौरमा भइरहेको रास्वपाको चुनावी सभालाई सम्बोधन गर्न सभापति रवि र वरिष्ठ नेता बालेन धनगढी पुगेका हुन्। जहाँ रास्वपाका हजारौं कार्यकर्ताको भीड लागेको छ।
सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रका पार्टी उम्मेदवारहरूको उत्साहजनक सहभागिता रहेको यस कार्यक्रममा उम्मेदवारहरूले पालैपालो आ–आफ्नो धारणा र भावी योजनाहरू प्रस्तुत गरिरहेका छन्। वैकल्पिक राजनीतिको नारासहित चुनावी मैदानमा होमिएको रास्वपाले धनगढीबाटै परिवर्तनको सन्देश दिँदै देशव्यापी अभियानको शङ्खघोष गरेको हो।
चुनावी सभालाई सम्बोधन गर्दै वरीष्ठ नेता बालेन्द्र शाहले रास्वपाले भोट माग्न होइन, जनतासँग काम माग्न आएको बताए। उनले सुदूरपश्चिमको विकासका लागि पार्टीले काम गर्ने आश्वासन दिए र मतदाताहरूलाई पूरा गर्नुपर्ने कामहरूको सूची उपलब्ध गराउन आग्रह गरे।
सभालाई सम्बोधन गर्दै रास्वपा सभापति रवि लामिछानेले यसपटकको निर्वाचनमा नेताले नभई जनताले जित्ने दाबी गरे। पुराना दलहरूले गरेको वाचा पूरा नगर्दाको सजाय जनताले भोग्नुपरेको बताउँदै उनले अब ५ वर्षका लागि स्थायी सरकार बनाउन जनतासँग ‘करार’ गर्न आफूहरू आएको उल्लेख गरे। भारतमा श्रम गरिरहेका सुदूरपश्चिमेलीहरूको पीडा स्मरण गर्दै लामिछानेले परदेशको कष्टकर जीवन अन्त्य गर्न अबको नेतृत्वले जिम्मेवारी लिनुपर्नेमा जोड दिए।




