दाङ, फागुन ८ । तुलसीपुरमा नेकपा एमालेको झण्डा जलाइएको भनिएको घटनामा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङले प्रष्ट पारेको छ। ‘तुलसीपुर खबर’ लगायतका सञ्चार माध्यममा “घण्टी पार्टीका कार्यकर्ताले जलाए एमालेको झण्डा” शीर्षकमा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै रास्वपाले यसलाई भ्रामक र नियोजित भएको दाबी गरेको छ।
बिहीबार राति रास्वपा सभापति रवि लामिछाने र नेता बालेन शाहको स्वागतका लागि भेला भएका केही व्यक्तिहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै ‘सूर्य’ चिन्ह अंकित झण्डा जलाएको दृश्य सार्वजनिक भएको थियो। उक्त घटना सार्वजनिक भएलगत्तै नेकपा एमालेको ‘नेशनल भोलिन्टियर फोर्स’ का कमाण्डर पुष्पराज श्रेष्ठले कारवाही गर्न माग गरेका थिए।
तर, रास्वपा दाङले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्यमा आफ्ना कार्यकर्ता वा समर्थकको कुनै भूमिका नरहेको स्पष्ट पारेको छ। “चुनावको पूर्वसन्ध्यामा रास्वपाको बढ्दो जनलहरलाई धुमिल बनाउने उद्देश्यले गरिएको यो निन्दनीय कार्यमा हाम्रो कुनै संलग्नता नरहेको स्पष्ट पार्दछौं,” विज्ञप्तिमा उल्लेख छ।
रास्वपाले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सुरक्षा निकायसँग माग समेत गरेको छ। साथै, एकतर्फी समाचार सम्प्रेषण नगर्न आग्रह गर्दै आफ्ना कार्यकर्ता र शुभेच्छुकहरूलाई संयमित रहन अपिल गरेको छ।





