काठमाडौं, फागुन १० । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ ।
आयोगले निर्वाचनको तयारी र मतदान प्रक्रियालाई व्यवस्थित बनाउन फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन सिफारिस गरेको हो । आयोगको यस पत्राचारका सम्बन्धमा आगामी मन्त्रिपरिषद् बैठकले अन्तिम निर्णय गर्नेछ।
आयोगको सिफारिस अनुसार सरकारले निर्णय गरेमा यसपटक फागु पूर्णिमा (होली) देखि नै लगातार लामो बिदा हुनेछ । यस वर्ष फागु पूर्णिमा पहाडमा १८ गते र तराईमा १९ गते परेको छ। त्यसलगत्तै २०, २१ र २२ गते निर्वाचन बिदा, २३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय नारी दिवसको सार्वजनिक बिदा परेकाले सर्वसाधारणले झन्डै एक साता लामो बिदा पाउने सम्भावना देखिएको छ ।




