धादिङ, फागुन ११ । धादिङमा भएको दुर्घटनामा मृत्यु भएका १९ जनामध्ये एक विदेशी नागरिकसहित ९ जनाको सनाखत भएको छ।
प्रहरीका अनुसार ज्यान गुमाउनेमा २४ वर्षीय बेलायती नागरिक स्टेवार्ट डोमिनिक इथान, पोखराका ४० वर्षीय विवेक बास्तोला, स्याङ्जाका ६३ वर्षीय चन्द्रबहादुर कुँवर, तनहुँका ४० वर्षीय ओम कुमार मल्ल, र धादिङका ३० वर्षीय इन्जिनियर ठकुरी रहेका छन्। त्यसैगरी, तनहुँकी ५५ वर्षीया विष्णुमाया ढकाल र ४५ वर्षीय हरिप्रसाद सिग्देल, काठमाडौं बौद्धका ४२ वर्षीय लोपसाङ गोले र पाल्पाका ५५ वर्षीय नविन श्रेष्ठको पनि पहिचान खुलेको छ। दुर्घटनामा ज्यान गुमाउने अन्य १० जना (७ पुरुष र ३ महिला) को भने अझै सनाखत हुन बाँकी छ, जसमध्ये एक पुरुषको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका-५, भैसेगौँडामा सोमबार बिहानै एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग १ ख १४२१ नम्बरको बस बिहान करिब १:३० बजे अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको थियो।




