काठमाडौं, फागुन ११ । नेपाली महिला फुटबल टोलीकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नो घुँडाको गम्भीर चोटको उपचारका लागि आम समर्थक र सरकारसँग आर्थिक सहयोगको याचना गरेकी छन्।
पछिल्लो ७ हप्तादेखि मैदान बाहिर रहेकी साम्बाले अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपचारमा प्रशासनिक सहयोग गर्न नसक्ने बताएपछि आफू आर्थिक र मानसिक संकटमा परेको खुलासा गरेकी छन्।साम्बाको घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाको ‘ग्राफ्ट’ र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ। यसअघि एन्फाको पहलमा कतारको अस्पेटारमा उपचार गर्दा उनी सफल रूपमा मैदान फर्किएकी थिइन्।
हाल न्युजिल्यान्डमा रहनुभएकी साम्बाले कतारको अस्पेटारमै उच्च स्तरको शल्यक्रिया र ७–८ महिनाको पुनस्र्थापना गराउन चाहेको उल्लेख गरेकी छन्। यसका लागि प्रारम्भिक आँकलन अनुसार झन्डै ८० हजार अमेरिकी डलर (करिब १ करोड ६ लाख नेपाली रुपैयाँ) खर्च हुने देखिएको छ। क्लबले बिमाबाट प्राप्त हुने केही रकम दिने भए पनि त्यो उपचारका लागि अपर्याप्त रहेको उनको भनाइ छ।
सरकारी प्रक्रिया ढिलो भएको र एन्फाले अभिभावकत्व ननिभाएको भन्दै उनले देश-विदेशमा रहेका नेपालीहरूलाई सहयोगका लागि अपील गरेकी छन्। “यो चोटले मलाई शारीरिक र मानसिक रूपमा थकाएको छ, तर मलाई विश्वास छ म फर्कनेछु। थाकेको हो, हारेको छैन,” उनले दृढता व्यक्त गरेकी छन्। सहयोग गर्न चाहनेहरूका लागि उहाँले ‘गिभ अ लिटल’ लिंक र नेपालका लागि क्युआर कोड समेत उपलब्ध गराएकी छन्।
उनी लेख्छिन् –





