काठमाडौं, फागुन १३ । पर्वतारोहण क्षेत्रमा हुने गरेको नक्कली उद्धार (फेक रेस्क्यू) प्रकरणमा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विमान सेवा सञ्चालक संघका पूर्वउपाध्यक्षसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभलका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र विमान सेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष ५६ वर्षीय राजेन्द्रबहादुर सिंह रहेका छन्। धादिङका तिवारीलाई मंगलबार र काठमाडौंका सिंहलाई बुधबार पक्राउ गरिएको ब्युरोले जनाएको छ।
अनुसन्धानका अनुसार, अभियुक्तहरूले उच्च हिमाली क्षेत्रमा पदयात्रामा गएका विदेशी पर्यटकहरू सामान्य अस्वस्थ हुँदा पनि गम्भीर समस्या देखाएर हेलिकोप्टरमार्फत उद्धार गरेको नक्कली कागजात बनाउने गरेका थिए। उनीहरूले विदेशी बिमा कम्पनीहरूबाट मोटो रकम दाबी गरी गैरकानुनी रूपमा आर्थिक लाभ लिने गरेको खुलेको छ।
ब्युरोका अनुसार यस प्रकरणमा हालसम्म ट्रेकिङ कम्पनी, रेस्क्यू एजेन्सी, अस्पताल, बिमाका कर्मचारी र हेलिकोप्टर कम्पनीका सञ्चालकसहित नौ जना पक्राउ परिसकेका छन्।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको र यस गिरोहमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।




