झापा, फागुन १३ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संघारमा झापा क्षेत्र नम्बर–५ मा नेकपा (एमाले) मा प्रवेश गर्नेहरूको लहर चलेको छ। बुधबार दमक–४ स्थित धरधरे टोलमा आयोजित एक बृहत् कार्यक्रमका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित विभिन्न दल परित्याग गरी ३ सय ५० भन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्।
नवप्रवेशीहरूलाई एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खादा र अबिर लगाएर पार्टीमा स्वागत गर्नुभयो।
किन रोजे एमाले? पार्टी प्रवेश गर्ने कार्यकर्ताहरूले झापा–५ को विकास र समृद्धिको नेतृत्व अध्यक्ष ओलीबाहेक अरूबाट सम्भव नभएको ठहर गर्दै आफूहरू एमालेमा समाहित भएको बताएका छन्। “विगतमा यस क्षेत्रको मुहार फेर्ने काम एमालेकै नेतृत्वमा भएको हो, आगामी दिनमा पनि विकासको ग्यारेन्टीका लागि ओलीकै विकल्प छैन,” नवप्रवेशीहरूको सामूहिक भनाइ थियो।
ओलीको क्षेत्रमा रास्वपालाई धक्का निर्वाचनको मुखमा रास्वपाका क्षेत्रीय नेताहरूसहित ठूलो संख्यामा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेपछि यस क्षेत्रको राजनीतिक समीकरणमा एमाले थप बलियो देखिएको छ। यसअघि पनि विभिन्न चरणमा अन्य दलका प्रभावशाली व्यक्तिहरू एमालेमा प्रवेश गरिसकेका छन्।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि झापा क्षेत्र नम्बर–५ बाट एमाले अध्यक्ष ओली स्वयं उम्मेदवार हुनुहुन्छ।




