सुर्खेत । नेपाली कांग्रेसका सभापति गगन थापाले सन् २०२५ देखि २०३० सम्मको आगामी पाँच वर्षलाई नेपालको ‘स्वर्णिम काल’ बनाउने संकल्प गरेका छन्।
बिहीबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले अबको समयलाई राजनीतिक प्रयोगमा मात्र नअल्झाई वास्तविक परिवर्तनको वर्षका रूपमा उपयोग गरिने बताए। “पेटमा भोक र आँखामा सपना बोकेर उड्न चाहने नेपालीका लागि अबका ५ वर्ष स्वर्णिम हुनेछन्,” उनले भने, “हामी उड्न त चाहन्छौँ, तर भुइँ छोडेका छैनौँ।”
नि:शुल्क शिक्षा र स्वास्थ्य मुख्य एजेन्डा
सभापति थापाले नागरिकको आधारभूत आवश्यकतामाथि राज्यको पूर्ण दायित्व हुनुपर्नेमा जोड दिए। उनले आगामी पाँच वर्षभित्र स्वास्थ्य र शिक्षामा कसैले पनि शुल्क तिर्नु नपर्ने योजना अघि सार्दै भने: “सबै नागरिकले पेटभरी खान पाउनु र उपचार वा शिक्षाका लागि एक रुपैयाँ पनि तिर्नु नपर्ने व्यवस्था मिलाउनु नै हाम्रो सपना हो।”
उनले अबको पाँच वर्ष अर्को कुनै राजनीतिक ‘एक्सपेरिमेन्ट’ (प्रयोग) गर्ने समय नभएको भन्दै यसलाई ठोस परिवर्तनको आधार बनाउनुपर्नेमा जोड दिए।




