बुटवल, फागुन १५ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबैलाई मिलाएर अगाडि बढ्ने क्षमता कांग्रेसमा मात्रै रहेको दाबी गर्दै आसन्न निर्वाचनमा रुख चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।
बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय मुद्दादेखि पार्टीभित्रको आन्तरिक विवादसम्म सुल्झाउने तागत कांग्रेससँग मात्र भएको उल्लेख गरे। नेता कार्यकर्तालाई सामाजिक सञ्जालको भ्रममा नपरी घर-घर पुग्न निर्देशन दिँदै उनले भने, “फेसबुक र युट्युबले धेरैलाई झुक्याएको छ, त्यसैले मतदाताको दैलोमा पुगेर संवाद गर्नुस्।”
कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरी सुधार्ने संकल्प गरेको बताउँदै थापाले किसानका समस्या समाधान गर्न र बाँझिएका खेतबारी हराभरा बनाउन ५ वर्षको समय मागेका छन्। विशेषगरी आक्रोशित नवयुवाहरूसँग नम्र भएर संवाद गर्न र कांग्रेसले ल्याएको नयाँ विकासको मार्गचित्रबारे स्पष्ट पार्न पनि उनले कार्यकर्तालाई आग्रह गरे।
सभापति कांग्रेसको सबैभन्दा ठूलो शक्ति संगठन भएको भन्दै नेता –कार्यकर्ताहरूलाई चुनाव प्रचार–प्रसारका लागि घर–घर जान, नवयुवाका कुरा सुन्न पनि आग्रह गरे । ‘हाम्रो सबैभन्दा ठूलो ताकत भनेको संगठनको ताकत हो । तपाईंको गोडा चलाउनुस्, घर–घर पुग्नुस् । तपाईंको हात चलाउनुस्, गएर ढोग्नुस्,’ उनले भने, ‘तपाईंको मुख चलाउनुस्, गएर संवाद चलाउनुस् । नौजवानहरूको कुरा सुन्नुस् ।’
थापाले नवयुवासँग कुरा गर्दा शुरूमा उनीहरूले गाली गर्न सक्नेतर्फ पनि स्मरण गराए । उनले पार्टीका नेता–कार्यकर्ताहरूसँग रिसाएका नवयुवालाई पार्टीका बारेमा सम्झाउन पनि आग्रह गरे । सभापति थापाले उत्तेजनाको राजनीतिमा धेरै नबहकिन पनि आग्रह गरेका छन् ।




