चितवन, फागुन १५ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनको चुनावी सभालाई सम्बोधन गर्दै देशको राजनीतिक र आर्थिक अवस्थामा आमूल परिवर्तनको खाँचो रहेको औँल्याएका छन्।
सभापति लामिछानेले सिंहदरबारलाई पुराना दलहरूले भ्रष्टाचारको अखडा बनाएको आरोप लगाउँदै अब सुशासनको नयाँ मानक स्थापना गर्ने र नेपाललाई परनिर्भरताबाट मुक्त गरी उत्पादनशील राष्ट्र बनाउने अठोट व्यक्त गरे। उनले ‘बाजे-बराजु’ को पुरानो राजनीतिक बाटो त्यागेर परिवर्तनका लागि घण्टी चिह्नमा मतदान गर्न आग्रह गरे।
सभामा बोल्दै लामिछानेले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेहरूले नै हिंसात्मक घटना घटाएको आरोप लगाए। “सिंहदरबार जलाउने र बालबालिकामाथि गोली ठोक्ने तत्व एउटै हो,” भन्दै उनले इतिहासले मागेको परिवर्तन पूरा गर्न रास्वपा तयार रहेको बताए। पार्टी नै बदल्न नचाहे पनि यसपटक मत बदल्न आग्रह गर्दै उनले रास्वपा सबैको साझा पार्टी भएको र आफू सुशासनका लागि कसैसँग नझुक्ने स्पष्ट पारे।




