काठमाडौं, फागुन १७ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका दिन अत्यावश्यक सेवा र विशिष्ट अवस्थाका सवारी साधनहरूलाई बिना पास सञ्चालन गर्न दिने निर्णय गरेको छ।
‘सवारी पदचाप व्यवस्थापन कार्यविधि, २०८२’ अनुसार खानेपानी, दूध, फलफूल, तरकारी, पेट्रोलियम पदार्थ, दूरसञ्चार, विद्युत् र अस्पतालका सेवामा प्रयोग हुने सवारी साधनका लागि पास आवश्यक पर्ने छैन।
यसैगरी, विमानस्थल जाने-आउने आन्तरिक तथा अन्तर्राष्ट्रिय यात्रु, गर्भवती महिला, हिँड्न नसक्ने अशक्त व्यक्ति, ज्येष्ठ नागरिक र उनीहरूका एक जना सहयोगी बोकेका सवारी साधनलाई पनि निर्वाध सञ्चालनको अनुमति दिइएको छ। कुटनैतिक नियोग (CD नम्बर प्लेट), प्रेस पास भएका सञ्चारकर्मी र आयोगको अनुमति प्राप्त पर्यवेक्षकका सवारी साधनहरूलाई पनि रोकतोक हुने छैन।
सवारी आवागमनलाई व्यवस्थित गर्न निर्वाचन आयोगको परिसरमा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं र आयोगका प्रतिनिधि सम्मिलित ‘एकीकृत सवारी आवागमन डेस्क’ स्थापना गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयहरूबाट जारी गरिने सवारी पासहरू पनि सोही एकीकृत डेस्कबाटै वितरण गर्ने व्यवस्था मिलाइएको छ, तर यी सवारी साधनहरूले असम्बन्धित यात्रु बोक्न भने पाउने छैनन्।




