काठमाडौं, फागुन १७ । नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढेको भन्दै आइतबार निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ।
पार्टीका प्रवक्ता एवं केन्द्रीय सदस्य देवराज चालिसेको नेतृत्वमा गएको टोलीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई चार बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै भौतिक चुनाव चिह्न र राष्ट्रिय झण्डाको दुरुपयोग, प्रचारप्रसारमा बालबालिकाको सहभागिता तथा सामाजिक सञ्जालमार्फत फैलाइने मिथ्या सूचना रोक्न माग गरेको छ।
ध्यानाकर्षण पत्र बुझ्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले हालसम्म ११ सयभन्दा बढी उजुरी परेको र कतिपय स्थानमा रकम समेत बाँडिएको सूचना आएकाले प्रमाण संकलन गरी कडा कारबाही गरिने प्रतिबद्धता जनाउनुभयो। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन कांग्रेसले गरेको यस पहलमा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, सीताराम केसी, युवा नेता मनोजमणि आचार्य लगायतको सहभागिता थियो।
यस्तो छ कांग्रेसले बुझाएको ध्यानाकर्षण पत्रः
फागुन १७, २०८२
श्री निर्वाचन आयोग
कान्तिपथ, काठमाडौँ ।
विषय – आचार संहिता उल्लंघन सम्बन्धमा ।
नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो । लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धा हुन्छ । कांग्रेस प्रतिस्पर्धामा विश्वास गर्छ । कांग्रेस विगतमा जस्तै भविष्यमा पनि नेपाली जनताले सुम्पिएको हरेक अभिभारालाई निष्ठा र इमानदारीपूर्वक वहन गरी लोकतन्त्र, संविधान, मानव अधिकारको संरक्षण र सम्वद्र्धनका निम्ति प्रतिबद्ध रहेको छ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदै गर्दा केही दलहरूले स्वच्छ प्रतिस्पर्धा गर्नुको सट्टा निर्वाचन आचार संहिता उल्लंघन गर्दै चुनाव प्रचार–प्रसार गरिरहेका समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशन र प्रसारण भइरहेका छन् । यसतर्फ पार्टीको गम्भीर ध्यानाकषर्ण भएको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, पारदर्शीता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम गराउनका लागि निर्वाचन आचार संहिता पालना गर्न गराउन लिखित रूपमा निम्न विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदछौँ ।
(१) राजनीतिक दलहरूले भौतिक चुनाव चिन्हको खुलेआम दुरुपयोग गरिरहेको ।
(२) राजनीतिक दलहरुले निर्वाचन प्रचार–प्रसार अभियानका क्रममा बालबालिकालाई सहभागी गराइएको ।
(३) निर्वाचन आयोगले राष्ट्रिय झण्डाको प्रयोगको सम्बन्धमा गरेको निर्देशन विपरीत राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको ।
(४) मिथ्या सूचनाको दुष्प्रचार गरी जनमतलाई आफ्नो दलको अभिष्ट पूरा गराउने उद्देश्यले सामाजिक सञ्जाल मार्फत् निर्वाचन आचारसंहिताको विपरीत हुने गरी सूचना सम्प्रेषण भइरहेको ।
देवराज चालिसे
प्रवक्ता
एवं
संयोजक— केन्द्रीय प्रचार–प्रसार समिति




