काठमाडौं, फागुन १९ । पहाडी क्षेत्रमा सोमबार उल्लासका साथ फागु पूर्णिमा मनाइएपछि आज मंगलबार तराई-मधेसका जिल्लाहरूमा होली आज धुमधामका साथ मनाइँदै छ।
बाँके, बर्दिया, धनुषा, महोत्तरी, सर्लाही, सिराहा र सप्तरी लगायतका जिल्लाहरूमा आज बिहानैदेखि रङ र अबिर खेल्दै, जोगिरा गाउँदै र नाच्दै यो पर्व धुमधामका साथ मनाइँदैछ। तराईमा होली मनाइने अवसरमा सरकारले आज ती जिल्लाहरूमा सार्वजनिक बिदा समेत दिएको छ।
असत्यमाथि सत्यको विजय र सामाजिक सद्भावको प्रतीक मानिने यो पर्वलाई तराईवासीहरूले पारिवारिक एवं सामाजिक एकताको उत्सवका रूपमा मनाउने गर्दछन्। काठमाडौँ उपत्यका लगायत पहाडी क्षेत्रमा बसोबास गर्ने तराई मूलका बासिन्दाले पनि आजै आपसमा शुभकामना आदानप्रदान गर्दै होली मनाइरहेका छन्।




