काठमाडौं, फागुन १९ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान गर्न जाँदा अनिवार्य रूपमा परिचयपत्र साथमा लैजान आग्रह गरेको छ। आयोगका अनुसार मतदाता नामावलीमा नाम भएका नागरिकले मतदान केन्द्रमा जाँदा आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र लैजानुपर्नेछ।
यदि यी कागजात नभएमा आयोगले विकल्पका रूपमा राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमति पत्रलाई पनि मान्यता दिने जनाएको छ। आयोगको अन्तिम मतदाता नामावलीमा नाम सूचीकृत भएका र यसै महिनाको ४ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताहरूले मात्र तोकिएको मतदान केन्द्रमा गई मतदान गर्न पाउनेछन्।




