काठमाडौं, फागुन २० । निर्वाचन आयोगले भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा मतपेटिका ढुवानी तथा सङ्कलनका लागि विशेष कार्ययोजना अन्तर्गत हेलिकप्टरको प्रयोग गर्ने भएको छ।
आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार, हुम्ला र डोल्पाका २७ अति दुर्गम केन्द्रमा मतदान अगावै हेलिकप्टरमार्फत आवश्यक सामग्री र जनशक्ति पुर्याइसकिएको छ भने मतदानपछि १५ जिल्लाका ६१ दुर्गम स्थानबाट मतपेटिका सङ्कलन गर्न पुनः हवाई साधनकै प्रयोग गरिनेछ। सडक सञ्जालले छोएका अन्य क्षेत्रमा भने सवारी साधनमार्फत नै ढुवानी गरिने र यस कार्यका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बजेट पठाइसकिएको छ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकायहरूको समन्वयमा देशभरका १६५ मतगणना स्थलसम्म मतपेटिका सुरक्षित रूपमा ल्याउने व्यवस्था मिलाइएको छ।




