काठमाडौं, फागुन २१ । चुनाव हुँदैन र अन्यौल बढ्छ भन्ने चौतर्फी चर्चा र आशंकाका बीच आज देशभर प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ।
निर्वाचन आयोगले प्रारम्भिक अनुमान अनुसार देशभर करिब ६० प्रतिशत मत खसेको जानकारी दिएको छ भने काठमाडौँमा मात्रै ६० देखि ६५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत चूडामणि खड्काले पुष्टि गर्नुभएको छ।
आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार दुर्गम १५ जिल्लाका मतपेटिकाहरू नेपाली सेनाको हेलिकोप्टरमार्फत संकलन गरिँदैछ र ताप्लेजुङ, रसुवा लगायतका जिल्लाबाट आजै मतपेटिका ल्याइनेछ।
अहिले देशभर मतपेटिका संकलन कार्य तीव्र पारिएको छ र संकलन सकिएलगत्तै मतगणना प्रक्रिया सुरु हुने आयोगले जनाएको छ।




