काठमाडौं, फागुन २५ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ ले आफ्नो निर्वाचन खर्चको पूर्ण विवरण सार्वजनिक गरेका छन्।
झापा–५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झन्डै ५० हजारको फराकिलो मतान्तरले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेका शाहले कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका हुन्। उनका प्रतिनिधि नवीन भण्डारीमार्फत २०८२ फागुन २५ गते दर्ता गराइएको उक्त विवरणमा १५ दिनको घरदैलो र प्रचारप्रसारमा ५ लाख ८० हजार, सवारी साधन र इन्धनमा २ लाख ९३ हजार ८ सय, र झण्डा तथा ब्यानर छपाइमा करिब २ लाख ७७ हजार रुपैयाँ खर्च भएको उल्लेख छ।
विगतको खर्चिलो चुनावी संस्कारलाई चुनौती दिँदै मितव्ययी र पारदर्शी ढङ्गले निर्वाचन जितेका बालेनको यो कदमले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ। पूर्वप्रधानमन्त्री ओलीलाई आफ्नै गढमा पराजित गरेपछि बालेन शाहको चर्चा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चुलिएको छ। यस जितसँगै संसद्मा रास्वपाको सशक्त उपस्थितिले बालेन अबको प्रधानमन्त्री बन्ने सम्भावना प्रबल देखिएको छ, जसलाई नेपाली राजनीतिमा एक ठुलो परिवर्तनका रूपमा हेरिएको छ।




