नवलपरासी, फागुन २५ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेमा सडक भासिएको ठाउँमा वर्षाका कारण हिलो भएर बाटो चिप्लो भएपछि बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
आज बिहान १० बजेदेखि नै बाटो अत्यधिक चिप्लो भएका कारण सवारी साधनहरू चलाउन कठिन भएपछि आवागमन ठप्प भएको हो। हाल सडकको दुवैतर्फ करिब १०० देखि १५० वटा सवारी साधनहरू लामो लाइनमा रोकिएका छन्, जसका कारण यात्रीहरू अलपत्र परेका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार, लगातारको झरी र हिलोका कारण तत्काल सडक सुचारु गराउन निकै चुनौतीपूर्ण देखिएको छ। प्रहरी र सडक विभागको टोली घटनास्थलमा पुगेर बाटो सफा गर्ने प्रयास गरिरहेका भए पनि निरन्तरको वर्षाले अवरोध हटाउन कठिन भइरहेको छ। प्रहरीले यात्रीहरूलाई धैर्य गर्न र सम्भव भए वैकल्पिक मार्ग प्रयोग गर्न विशेष आग्रह गरेको छ।




