काठमाडौं, फागुन २६ । पूर्व अर्थमन्त्री रामेश्वर प्रसाद खनालले सार्वजनिक पद त्याग गर्ने तयारी स्वरूप आफूसँग रहेका सरकारी सम्पत्तिहरू सम्बन्धित निकायलाई फिर्ता गरेका छन्। उनले आफ्नो प्रयोगमा रहेको कूटनीतिक राहदानी बुझाएर राजनीतिक वृत्तमा नैतिकताको एउटा सकारात्मक उदाहरण प्रस्तुत गरेका हुन्।
खनालले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी (नम्बर DA0002710) फागुन २६ गते अर्थ मन्त्रालयको प्रशासन महाशाखामार्फत फिर्ता गरेकाे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनले सो राहदानी विभागमा सुरक्षित रूपमा बुझाउन पत्रमार्फत अनुरोध समेत गरेका छन्। सार्वजनिक पदाधिकारीको रूपमा आफ्नो जिम्मेवारी अन्त्य हुनुअघि नै यी सामग्री फिर्ता गरेको उनको भनाइ छ।
नेपालमा मन्त्री वा उच्च पदाधिकारीले पदमा रहँदा कूटनीतिक राहदानी र अन्य सरकारी सुविधाहरू प्रयोग गर्ने व्यवस्था छ। पदमुक्त भएपछि वा आवश्यकता नभएपछि त्यस्ता सामग्री फिर्ता गर्नुपर्ने कानुनी र नैतिक प्रचलन रहे पनि धेरैले समयमै फिर्ता नगर्ने परिपाटी देखिँदै आएको छ।




