काठमाडौं, फागुन २७ । नेपाल वायुसेवा निगमले अमेरिका–इरान तनावका कारण दुबईमा रोकिएका यात्रुहरूको उद्धारका लागि आज राति वाइडबडी विमानमार्फत ‘स्पेशल फ्लाइट’ सञ्चालन गर्ने भएको छ।
१२ दिनपछि हुन लागेको यस विशेष उडान (आरए २२९) आज राति ११:१५ बजे काठमाडौँबाट दुबई प्रस्थान गर्नेछ भने दुबईमा अड्किएका यात्रु बोकेर बिहीबार बिहान ४:१० बजे काठमाडौँ फर्किने तालिका रहेको छ।
निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठका अनुसार गत फेब्रुअरी २८ देखि मार्च ९ सम्मको टिकट भएर यात्रा गर्न नपाएका यात्रुहरूलाई ‘पहिलो आउनेलाई प्राथमिकता’ को आधारमा स्वदेश फिर्ता ल्याइनेछ। निगमले सम्बन्धित यात्रुहरूलाई आफ्नो टिकट पुनः प्रमाणित गराएर मात्र यात्रा गर्न अनुरोध गरेको छ।





