काठमाडौं, चैत्र २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध दायर रिटमा आज सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आइतबार समय अभावका कारण उक्त निवेदनलाई ‘हेर्दाहेर्दै’ मा राखेर आजका लागि सारेको हो। यसअघि न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले यस विषयको गम्भीरतालाई ध्यानमा राख्दै नियमित सुनुवाइका लागि पेस गर्न आदेश दिएको थियो।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले अघिल्लो सरकारको पालामा लामिछानेविरुद्ध दर्ता भएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दाहरू फिर्ता लिने निर्णय गरेकी थिइन्। सरकारको उक्त कदमले कानुनी प्रक्रियामा हस्तक्षेप गरेको भन्दै युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका थिए।




