काठमाडौं, चैत ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले आगामी शुक्रबार दिउँसो ठीक १२:३४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने हुनुभएको छ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले बहुमत प्राप्त गरेपछि मुलुकको कार्यकारी प्रमुख बन्न लाग्नुभएका शाहको यो शपथ ग्रहण समारोह केवल राजनीतिक औपचारिकतामा मात्र सीमित नभई विशेष आध्यात्मिक र सांस्कृतिक स्वरूपको हुनेछ। शीतल निवासमा आयोजना गरिने उक्त ऐतिहासिक समारोहमा ७ जना ब्राह्मण पुजारीले मन्त्रोच्चारणका साथ ‘शंखध्वनि’ गरेर कार्यक्रमको शुभारम्भ गर्नेछन् भने १०८ जना बटुकहरूले सामूहिक रूपमा ‘स्वस्ति वाचन’ गरी राष्ट्रको मङ्गल कामना गर्नेछन्।
साथै, १०७ जना बौद्ध लामाहरूले विशेष ‘मङ्गल वचन’ पाठ गरी नयाँ सरकारको सफल कार्यकालका लागि आशीर्वाद दिने तयारी गरिएको छ। परम्परा र आधुनिकताको अनुपम संगम देखिने यो समारोहलाई नेपाली राजनीतिमा एउटा नयाँ र ऐतिहासिक अध्यायको रूपमा हेरिएको छ।




