काठमाडौं, चैत्र १८ । नेकपा (एमाले) को संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ निर्वाचित भएका छन्। पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठक र निर्वाचन प्रक्रियामार्फत थापा निर्विरोध निर्वाचित भएका हुन्।
संसदीय दलको नेताका लागि उपाध्यक्ष थापा र युवा नेता सुहाङ नेम्वाङले बलियो दाबी प्रस्तुत गरेका थिए। पार्टीभित्र सहमतिका लागि प्रयास गरिए पनि दुवै पक्षबीच कुरा मिल्न नसकेपछि अन्ततः निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गर्ने निर्णय भएको थियो। निर्वाचनको तयारी स्वरूप दुवै नेताले मनोनयन पत्र लिएका थिए। थापाले आफ्नो उम्मेदवारी विधिवत रूपमा दर्ता गराइसकेका थिए भने नेम्वाङ पनि चुनावी प्रतिस्पर्धाको अन्तिम तयारीमा थिए।
मनोनयन दर्ताको क्रममा सुहाङ नेम्वाङले आवश्यक प्रस्तावक र समर्थक जुटाउन नसकेपछि उनको उम्मेदवारी प्रक्रिया प्राविधिक रूपमा अघि बढ्न सकेन। प्रतिस्पर्धीको उम्मेदवारी दर्ता नभएपछि मतदान नै नगरी थापा निर्विरोध रूपमा संसदीय दलको नेता निर्वाचित भएका हुन्।




