काठमाडौं, चैत्र २५ । नेपाल सरकारद्वारा गठित “संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२” ले संविधान संशोधनको प्रक्रियालाई राष्ट्रिय सहमतिको साझा एजेन्डा बनाउन बृहत् र समावेशी छलफलको तयारी गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित “संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल-२०८२” को पहिलो बैठक आज बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने तय भएको यस बैठकले संविधान संशोधनको भावी दिशा र बहसको प्रारम्भिक खाका तय गर्नेछ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको यस कार्यदलले पूर्वराष्ट्रपति, संविधानविद्, पूर्वप्रधानन्यायाधीशदेखि लिएर सञ्चारमाध्यम, निजी क्षेत्र र ‘जेनजी’ का अगुवाहरूसँग समेत चरणबद्ध रूपमा सुझाव संकलन गर्नेछ।
कार्यदलमा एमाले, रास्वपा र राप्रपा लगायतका दलले प्रतिनिधि पठाइसकेका छन् भने नेपाली कांग्रेस, जसपा र लोसपाले पनि आजै आफ्ना प्रतिनिधिको नाम टुङ्गो लगाउने तयारी गरेका छन्। राष्ट्रिय सहमतिको आधारमा तयार पारिने यस बहसपत्रले आगामी संविधान संशोधनको ठोस खाका र प्रक्रियालाई मार्गप्रशस्त गर्ने लक्ष्य राखेको छ।




