काठमाडौं, चैत २६ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक १३ दिनको हिरासतपछि बिहीबार रिहा भएका छन्। सर्वोच्च अदालतको परमादेश र कानुनी प्रक्रिया पूरा गरी दुवै नेतालाई परिवारको जिम्मामा छाडिएको हो।
‘जेनजी’ आन्दोलनमा दमन गरेको आरोपमा चैत १४ गते भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका नेकपा (एमाले) अध्यक्ष ओली स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पतालमा भर्ना थिए। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार, ओलीलाई उनकी पत्नी राधिका शाक्यको जिम्मामा अस्पतालबाटै रिहा गरिएको छ। उनको आगामी स्वास्थ्य उपचार र थप निर्णय चिकित्सकको सल्लाह बमोजिम हुने प्रहरीले जनाएको छ।
त्यस्तै, सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई सशस्त्र प्रहरी बलको नम्बर २ गणबाट उनकी पत्नी यशोदा लेखकको जिम्मामा रिहा गरिएको छ। लेखकलाई भदौ २३ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयका आधारमा पक्राउ गरिएको थियो।
सर्वोच्च अदालतले चैत २६ गतेसम्म अनुसन्धान टुङ्ग्याउन वा सर्तसहित छाड्न दिएको परमादेशका आधारमा दुवै नेतालाई ‘आवश्यक परेको बेला उपस्थित हुने’ गरी (हाजिर जमानीमा) रिहा गरिएको हो। उनीहरूविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भने जारी रहने प्रहरीले स्पष्ट पारेको छ।




