काठमाडौं, चैत २६ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपककुमार साहलाई पदबाट बर्खास्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको लिखित सिफारिसका आधारमा प्रधानमन्त्री शाहले बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गर्नुभएको हो।
मन्त्री साहले पदीय मर्यादाको गम्भीर दुरुपयोग गरी आफ्नै श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको पुष्टि भएपछि रास्वपाले उनलाई ‘राइट टु रिकल’ अन्तर्गत फिर्ता बोलाएको हो। पार्टीको केन्द्रीय अनुशासन आयोगले गरेको छानबिनमा मन्त्री साहको उक्त कदमले पार्टीको आदर्श र सुशासनको सिद्धान्तमा गम्भीर आँच पुर्याएको निष्कर्ष निकालेको थियो।
यसैगरी, सोही प्रकरणमा आफ्नो जिम्मेवारी निर्वाह गर्दा अपेक्षित गम्भीरता र सजगता नदेखाएको भन्दै प्रधानमन्त्री शाहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहतालाई समेत सचेत गराउनुभएको छ।
रास्वपाले आफ्नै पार्टीका मन्त्रीलाई पदीय आचरण विपरीत काम गरेको भन्दै कारबाहीका लागि सिफारिस गर्नु र प्रधानमन्त्रीले तत्काल कार्यान्वयन गर्नुलाई राजनीतिक वृत्तमा सुशासनको बलियो सन्देशका रूपमा हेरिएको छ।




