काठमाडौं, चैत्र २९ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका तीव्र गतिका बलर करण केसीलाई अनुशासन उल्लंघनको आरोपमा कारबाही गरेको छ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत अम्पायरप्रति धम्कीपूर्ण र अमर्यादित अभिव्यक्ति दिएको ठहर गर्दै क्यानले उनलाई प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको एक खेलमा प्रतिबन्ध लगाउनुका साथै १०० प्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय गरेको हो। करणले “अम्पायरलाई पिटेमा कति म्याच प्रतिबन्ध हुन्छ?” भन्दै लेखेको स्टाटसप्रति नेपाल क्रिकेट अम्पायर तथा स्कोरर्स संघ (कुसान) ले कडा आपत्ति जनाउँदै कारबाहीको माग गरेको थियो।
यद्यपि करणले उक्त स्टाटस हटाएर क्षमायाचना गरिसकेका छन्, तर क्यानले आईसीसीको आचारसंहिता र म्याच रेफ्रीको रिपोर्टलाई आधार मान्दै खेल भावना विपरीतको कार्य भएको भन्दै यो कडा कदम चालेको हो।




