काठमाडौं, वैशाख ७ । हिन्दू पञ्चाङ्ग अनुसार प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज देशभर विशेष श्रद्धा र उत्साहका साथ मनाइँदैछ। ज्योतिषीय गणना र आध्यात्मिक दृष्टिले वर्षभरिकै सबैभन्दा उत्तम मानिने यो दिनलाई ‘स्वयं सिद्ध मुहूर्त’ का रूपमा लिइन्छ।
‘अक्षय’ को शाब्दिक अर्थ हुन्छ- जसको कहिल्यै क्षय (नाश) हुँदैन। धार्मिक मान्यता अनुसार आजको दिन गरिएका सत्कर्म, दान, जप र तपको फल अनन्त कालसम्म प्राप्त भइरहने विश्वास गरिन्छ। आज अक्षय तृतीया जौको सातु र सर्वत खाइन्छ । वैशाखको चर्को गर्मीमा शरीरलाई शितलता प्रदान गर्न आजका दिन जौको सातु र सख्खरयुक्त सर्वत दान गर्ने र सेवन गर्ने मौलिक परम्परा छ।
राजधानीका विभिन्न चोक र सार्वजनिक स्थलहरूमा आज बटुवाहरूलाई सातु र सर्वत खुवाउने कार्यक्रमहरू भइरहेका छन् । गुठी र परोपकारी संस्थाहरूले ठाउँ–ठाउँमा शिविर राखेर सेवा दिइरहेका छन् । विशेष गरी ज्येष्ठ नागरिक र बालबालिकालाई लक्षित गरी यो सेवा प्रदान गरिएको छ । वैशाखको तातो घाममा सातु र सर्वतले शरीरलाई ऊर्जा र शितलता प्रदान गर्ने वैज्ञानिक कारण पनि छ । पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि विशेष पूजाहरू भइरहेका छन्।
अक्षय तृतीयाको दिनलाई सृष्टिको शुरुवातको दिन पनि मानिन्छ । त्रेता युगको शुरुवात आजकै दिन भएको पौराणिक मान्यता छ । भक्तजनहरूले पशुपति क्षेत्रमा दान–पुण्यका कार्यहरू पनि गरिरहेका छन् । आजको दिन पशुपतिनाथको दर्शन गर्नाले अनन्त फल प्राप्त हुने जनविश्वास छ । सनातन धर्मावलम्बीहरूकाअनुसार आजको दिन सुन वा चाँदीका गहना किन्दा घरमा बरकत र समृद्धि आउने विश्वास गरिन्छ । आजको दिनमा गरिएका सत्कर्महरू अक्षय रहने धार्मिक विश्वास छ । दुःखी र असहायलाई सातु, पानी र छाता दान गर्नु पुण्यदायी मानिन्छ । नयाँ व्यवसाय वा ठूला लगानी शुरुवात गर्न आजको दिन उत्तम मुहूर्त हो ।
आजको दिन विशेष गरी जलपूर्ण कलश, अन्न र छाता दान गर्नाले दरिद्रताबाट मुक्ति मिल्ने र पितृहरूको नाममा तर्पण दिँदा वंशको उन्नति हुने धार्मिक विश्वास छ। आर्थिक समृद्धिका लागि सुन-चाँदी जस्ता बहुमूल्य धातु वा नयाँ माटोको घैँटो घरमा भित्र्याउनु शुभ मानिने यस दिनमा क्रोध, कलह र तामसिक भोजनबाट टाढा रही सात्विक आहार र व्यवहार अपनाउनु कल्याणकारी हुन्छ। यसरी आध्यात्मिक साधना, सेवा र दानको महायोगका रूपमा रहेको अक्षय तृतीयाले मानव जीवनमा कहिल्यै नघट्ने खुसी, शान्ति र वैभवको आशीर्वाद प्रदान गर्दछ।




