काठमाडौं, वैशाख १० । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ले अनलाइन मिडिया तथा सामाजिक सञ्जालमार्फत फैलिरहेका अपुष्ट, भ्रामक र तथ्यहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले यस्ता सामग्रीले नागरिकमा भ्रम सिर्जना गर्नुका साथै राज्यप्रति विश्वास कमजोर बनाउने भन्दै सचेत गराएको छ।
मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा हाल विभिन्न अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालहरूमा आधारहीन सूचना तथा झुटा समाचार प्रकाशन र प्रसारण भइरहेको उल्लेख गरिएको छ। यस्ता गतिविधिले समाजमा गलत मनोविज्ञान फैलाउने र सार्वजनिक शान्ति तथा विश्वासमा असर पार्ने जोखिम रहेको जनाइएको छ।
सरकारले सबै सञ्चारमाध्यम, संस्था तथा व्यक्तिहरूलाई आधिकारिक स्रोतबाट पुष्टि नभएका समाचार तथा सूचना प्रकाशन नगर्न आग्रह गरेको छ। साथै, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई पनि कुनै पनि सामग्री सेयर गर्नु अघि त्यसको सत्यता जाँच गर्न अपिल गरिएको छ।
मन्त्रालयले चेतावनी दिँदै भनेको छ कि यदि तथ्यहीन, झुटा र भ्रामक समाचार प्रकाशन वा प्रसारण गरिएको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थामाथि प्रचलित कानूनअनुसार कडा कारबाही गरिनेछ।
त्यसैगरी, यस्ता गलत सूचना फैलिएको थाहा पाएमा नागरिकहरूलाई सम्बन्धित निकायमा जानकारी गराउन पनि अनुरोध गरिएको छ।




