काठमाडौं, वैशाख ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता तथा ‘जेनजी’ आन्दोलनका अगुवा रवि किरण हमालले पार्टीको केन्द्रीय सदस्यसहित साधारण सदस्यबाट समेत राजीनामा दिँदै पार्टीसँगको आबद्धता तोडेका छन्।
लोकतन्त्र दिवसको अवसरमा एक प्रेस वक्तव्य जारी गर्दै हमालले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सुशासन, राजनीतिक संस्कार र स्थायित्वका लागि यो निर्णय लिएको स्पष्ट पारेका छन्। जेनजी आन्दोलनका क्रममा भोगेको गिरफ्तारी र राजनीतिक अवमूल्यनको स्मरण गर्दै उनले निर्वाचनका क्रममा जनस्तरबाट प्राप्त सुझाव र युवा पुस्ताको परिवर्तनको तीव्र चाहनालाई हृदयङ्गम गरी स्वतन्त्र रूपमा अघि बढ्ने बाटो रोजेको बताएका छन्।
सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार समेत बनेका हमालले आफ्नो राजीनामा कुनै निराशा नभई जनताको आकांक्षाप्रतिको जिम्मेवारी रहेको उल्लेख गर्दै आगामी दिनमा भ्रष्टाचारमुक्त शासन र राष्ट्रिय हितका लागि सदैव अग्रपंक्तिमा रहने प्रतिबद्धता जनाएका छन्। उहाँले पार्टी अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपाले आफूमाथि देखाएको स्नेहप्रति कृतज्ञता समेत व्यक्त गर्नुभएको छ।




