काठमाडौं, वैशाख २३ । सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा. डा. जगदिश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डीन समेत रहनुभएका डा. अग्रवालले मुलुकको स्वास्थ्य नीति, जनस्वास्थ्यका चुनौती र चिकित्सा शिक्षाको सुधारका लागि प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिनुहुनेछ। चिकित्सा क्षेत्रमा लामो अनुभव सँगाल्नुभएका अग्रवालको नियुक्तिले स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारमा टेवा पुग्ने विश्वास गरिएको छ।




