काठमाडौं, वैशाख ३० । सरकारले जग्गा धनी प्रमाणपूर्जा (लालपुर्जा) नपाउन्जेलसम्म वास्तविक सुकुम्बासीहरूलाई मासिक १५ हजार रुपैयाँ आवास भत्ता उपलब्ध गराउने भएको छ।
बिहीबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सरकारी अधिकारीहरूले सुकुम्बासी व्यवस्थापनको अन्तरिम समाधानका रूपमा यो योजना अघि सारेका हुन्। सहरी विकास मन्त्रालयका अनुसार हाल काठमाडौँका होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचानका लागि छनोट प्रक्रिया जारी छ र यो प्रक्रिया सकिएलगत्तै ‘फास्ट-ट्रयाक’ मार्फत लालपुर्जा वितरण गरिनेछ।
यस कार्यक्रमका लागि आवश्यक बजेट सुनिश्चित भइसकेको र होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई विद्यालय यातायात तथा गर्भवती महिलालाई पोषण सहायता समेत उपलब्ध गराइने सरकारी पक्षले जनाएको छ। समितिले सरकारको प्रगति र सुकुम्बासीको वास्तविक अवस्था मूल्याङ्कन गर्न स्थलगत अनुगमन समेत गर्ने निर्णय गरेको छ।




