काठमाडौं, जेठ ४ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिन जादुगर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा नयाँ विश्व कीर्तिमान कायम गर्दै इतिहास रचेका छन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा उत्कृष्ट बलिङ गर्दै सन्दीप ओडीआई इतिहासमै सबैभन्दा छिटो १५० विकेट लिने बलर बनेका हुन्। उनले अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको नाममा रहेको वैश्विक कीर्तिमान भंग गरेका हुन्।
सन्दीपले मात्र ७३ एकदिवसीय खेलमा यो ऐतिहासिक कोसेढुङ्गा पार गरेका हुन्। यसअघि यो विश्व कीर्तिमान बनाएका अस्ट्रेलियाका स्टार्कले ७७ खेलमा १५० विकेट पूरा गरेका थिए।
स्कटल्याण्डविरुद्धको आजको खेलमा सन्दीपले जर्ज मुन्से, ब्रान्डन म्याकमलेन र म्याथ्यु क्रसको महत्त्वपूर्ण विकेट लिँदै यो दुर्लभ सफलता आफ्नो नाममा लेखाउन सफल भए। यसअघि ओडीआईमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान (४२ खेल) पनि सन्दीप कै नाममा रहेको छ।




