काठमाडौं, जेठ ५ । ६ वर्षीया बालिकाको कानको सुनको मुन्द्रा लुट्नकै लागि उनको क्रूरतापूर्वक हत्या गरेपछि अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा केन्द्रीय कारागारमा जन्मकैदको सजाय भुक्तान गरिरहेकी २५ वर्षीया बन्दी सपना तामाङ जेलभित्रै मौलाएको प्रेमका कारण कारागारको पर्खाल नाघेर फरार भएकी छन्।
१७ वर्षकै उमेरदेखि चोरी र डकैती कसुरमा पटक–पटक पक्राउ पर्दै आएकी नुवाकोटकी सपनाको सोही जेलमा कैद आफ्नी आमालाई भेट्न आउने भोजपुरका समीर श्रेष्ठसँग कारागारभित्रै चिनजान भई प्रेम सम्बन्ध विकास भएको थियो। प्रेमी समीरकै योजना र उक्साहटमा गत शनिबार बिहान साढे १ बजे महिला बन्दीगृहको कडा सुरक्षा घेरा र पर्खाल नाघेर फरार भएकी सपनालाई समीरले मोटरसाइकलमा राखेर असनस्थित आफ्नो डेरामा पुर्याएका थिए।
फरार भएपछि प्रेमीसँग डेरामा लुकेर रमाइलो गरिरहेको अवस्थामा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २४ घण्टा नबित्दै आइतबार राति उनलाई प्रेमीको कोठाबाटै पुनः पक्राउ गरेको छ। कारागार प्रशासक कृष्ण चापागाईंका अनुसार सपनालाई पुनः केन्द्रीय कारागार फिर्ता ल्याइएको छ भने देशकै कडा सुरक्षा मानिने कारागारको प्रणालीलाई चुनौती दिँदै बन्दी भगाउन सघाउने प्रेमी समीर श्रेष्ठलाई समेत नियन्त्रणमा लिएर प्रहरीले थप कानुनी कारबाही अगाडि बढाएको छ।




