काठमाडौं, जेठ ६ । संसदमा मन्त्रीहरूले दिएको जवाफमाथि प्रतिप्रश्न र थप स्पष्टीकरण सोध्न पाउनुपर्ने माग राख्दै श्रम संस्कृति पार्टीका सांसदहरूले बुधबार पुनः प्रतिनिधि सभा बैठक अवरुद्ध पारेका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. बिक्रम तिमिल्सिना र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएलगत्तै सदनमा गतिरोध सुरु भएको हो।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोध जनाउँदै मन्त्रीका जवाफमाथि थप स्पष्टीकरण सोध्न र प्रतिप्रश्न गर्न पाउनुपर्ने अडानमा उत्रिएका थिए। तर, सभामुख डोलप्रसाद अर्यालले संसदीय नियमावलीको हवाला दिँदै मन्त्रीले रोस्टमबाट सम्बोधन गरिसकेपछि सोही विषयमा थप सवालजवाफ गर्ने व्यवस्था नरहेको भन्दै उनीहरूलाई थप समय दिन अस्वीकार गर्नुभयो। बाँकी रहेका चासो र सरोकारहरूलाई आगामी कार्यसूचीहरूमा आवश्यकता अनुसार सम्बोधन गरिने कुरा स्पष्ट पार्दै सभामुखले बारम्बार बस्नका लागि आग्रह गर्दा पनि आन्दोलित सांसदहरूले संसद्भित्र आफ्नो विरोध प्रदर्शन जारी राखेका थिए।
सांसदहरूको लगातारको बलमिच्याइँ पछि सभामुख अर्यालले कडा रूपमा प्रस्तुत हुँदै उनीहरूले संसदीय मर्यादा र आचारसंहिताको धज्जी उडाएको आरोप लगाउनुभयो। बुधबारको बैठकमा मात्रै तीन पटक रुलिङ गरिसकेको स्मरण गराउँदै सभामुखले सदनमा भइरहेको अवरोध संविधान, कानुन र प्रतिनिधि सभा नियमावली विपरीत रहेको र यस्तो शैली संसद्को गरिमा सुहाउँदो नभई उच्छृङ्खल र अनुशासनहीन भएको उल्लेख गर्नुभयो।
विरोध गरिरहेका सदस्यहरूलाई संसदीय मर्यादाभित्र रहेर आ-आफ्नो स्थानमा बस्न सचेत गराउँदै सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम २१ (क) तर्फ उनीहरूको ध्यानाकर्षण गराई संसद्को अनुशासन पालना गर्न अन्तिम चेतावनी दिनुभएको थियो।




