काठमाडौं, जेठ ७ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहको राजीनामा माग गर्नुभएको छ।
संसद्मा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ नदिएर प्रधानमन्त्रीले संसदीय गरिमाको उपहास गरेको आरोप लगाउँदै उहाँले सो माग गर्नुभएको हो। संसद् नियमावलीको नियम १५ को उपनियम (२) अनुसार सरकारको नेतृत्वकर्ताले सदनमा उठेका प्रश्नको उत्तर दिनुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै अध्यक्ष राईले आफूले गत वैशाख २८ र २९ गते राखेका प्रश्नहरूको जवाफ १० दिन बितिसक्दा पनि नआएकोमा कडा आपत्ति जनाउनुभयो।
प्रधानमन्त्री साहले नै हाल गृह र रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हाली रहनुभएको सन्दर्भ उल्लेख गर्दै उहाँले सुकुम्बासी समस्या, शान्तिसुरक्षा र लिपुलेक लगायतका सीमा सम्बन्धी संवेदनशील विषयमा प्रधानमन्त्री आफैँ संसद्मा उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने अडान राख्नुभयो। प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै उहाँले यो देशमा संसद्को अस्तित्व र लोकतन्त्रको गरिमा जोगाउनु प्रधानमन्त्रीको पनि कर्तव्य भएको बताउनुभयो।
जनताको मतबाट स्थापित संसद्प्रति प्रधानमन्त्री जवाफदेही नभएकोमा शंका व्यक्त गर्दै अध्यक्ष राईले यदि उहाँले आफ्नो संवैधानिक कर्तव्य पूरा गर्न सक्नुहुन्न भने तत्काल मार्ग प्रशस्त (राजीनामा) गर्नुपर्ने माग गर्नुभयो।




