काठमाडौं, जेठ १४ । मुस्लिम समुदायको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिद तथा इदगाहहरूमा सामूहिक नमाज र शुभकामना आदान-प्रदान गरी हर्षोल्लासका साथ मनाइँदै छ। इदुल फित्रको ७० औँ दिनमा मनाइने यस ऐतिहासिक पर्वको मुख्य विशेषता ‘हज यात्रा’ र ‘कुर्बानी’ (बलिदान) सँग जोडिएको छ।
धार्मिक मान्यताअनुसार, अल्लाहको आदेशमा हजरत इब्राहिम आफ्ना प्रिय छोरा इस्माईललाई कुर्बानी गर्न तयार भएको र उनको परीक्षा सफल भएपछि स्वर्ग (जन्नत) बाट आएको दुम्बाको बलि भएको सम्झनामा यो पर्व सुरु भएको हो। यस अवसरमा साउदी अरबको मक्का मदिनामा विशेष मेला लाग्ने गर्दछ, जहाँ नेपाली यात्री पठाउन गृह मन्त्रालयको हज समितिले व्यवस्थापन गर्दै आएको छ।
लगातार तीन दिनसम्म मनाइने यस पर्वमा कुर्बानी गरिएको मासुलाई तीन भागमा विभाजन गरी गरिब, इष्टमित्र र आफ्नै परिवारमा बाँडेर खाने धार्मिक नियम छ। यसै पावन अवसरमा काठमाडौँको जामे र काश्मीरी मस्जिदलगायत देशभरका धार्मिक स्थलहरूमा भक्तजनको ठूलो घुइँचो लागेको छ भने सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिएको छ।




