काठमाडौं, जेठ १४ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीति निर्माण र अनुसन्धान कार्यलाई प्रभावकारी बनाउन सातवटा विषयगत उपसमितिहरू गठन गरेको छ।
प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माको सभापतित्व र महामन्त्री गगनकुमार थापाको उपस्थितिमा बिहीबार राति बसेको बैठकले अर्थतन्त्र, जलवायु परिवर्तन, युवा मुद्दा, बाल अधिकार र श्रमिकका समस्या जस्ता महत्त्वपूर्ण क्षेत्रहरू समेटेर उपसमितिहरू तय गरेको हो।
बैठकले ‘पार्टीको नीति, दृष्टि र योजना उपसमिति’ को संयोजकमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेल र ‘नवयुवा भावना, मुद्दा र अन्तरपुस्ता संवाद उपसमिति’ को संयोजकमा चलचित्र निर्देशक मीनबहादुर भामलाई चयन गरेको छ। यसैगरी रोशनी गिरी, महेन्द्र यादव, उमंग लोहनी, गोपालप्रसाद पोखरेल र अञ्जु झालाई पनि विभिन्न उपसमितिको जिम्मेवारी दिइएको छ।
बैठकमा उपप्रमुख मधु आचार्यले आन्तरिक आचारसंहिता सम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो भने नवनियुक्त संयोजकहरूलाई आगामी चौथो बैठकमा आफ्नो प्रारम्भिक अवधारणा र कार्ययोजना पेस गर्न निर्देशन दिइएको छ।




