काठमाडौं, जेठ १७ । ठगी तथा सम्पत्ति शुद्धीकरणको गम्भीर आरोप लागेकी टिकटकर तुल्सा (तुलसी) अधिकारीलाई इन्टरपोलको सहयोगमा थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ।
ललितपुर प्रहरी परिसरका एसपी गौतम मिश्र र प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी अविनारायण काफ्लेका अनुसार, थाइल्याण्डबाट काठमाडौँ ल्याइएकी अधिकारीलाई हाल ललितपुर प्रहरीको हिरासतमा राखिएको छ।
ललितपुरको सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाको जाहेरीका आधारमा गत साउनमै उनीविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको उजुरी परेको थियो। अनुसन्धानका क्रममा उनको बैंक खातामा अस्वाभाविक रूपमा ठूलो रकमको कारोबार देखिएपछि सम्पत्ति शुद्धीकरण र ‘हनी ट्र्याप’ (अपराधिक लाभ) को कोणबाट समेत अनुसन्धान अघि बढाइएको थियो।
यसै क्रममा उनी विदेश फरार भएपछि नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले उनीविरुद्ध ‘रेड नोटिस’ जारी गरेको थियो। उनीसहित १० जना प्रतिवादी रहेको यस मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ बिगो कायम गरी ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ, जुन हाल अदालतमा विचाराधीन अवस्थामा रहेको छ।




