काठमाडौं, जेठ २२ । भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको टोली अयोध्या पुगेको छ। नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटघाट र कूटनीतिक संवाद सम्पन्न गरेर रास्वपा टोली अयोध्या प्रस्थान गरेको हो।
अयोध्या पुगेर सभापति लामिछाने, उनकी पत्नी निकिता लामिछाने (पौडेल), रास्वपाका सहमहामन्त्री विपिन कुमार आचार्य र प्रतिनिधि सभा सदस्य दीपक बोहोरासहितको टोलीले राम मन्दिरमा विशेष दर्शन तथा पूजा-आराधना गरेको छ। राम मन्दिरको दर्शन र भ्रमण कार्यतालिका सकेर रास्वपा टोली आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको उनीहरूको सचिवालयले जनाएको छ।
गत जेठ १८ गते ५ दिने भ्रमणका लागि भारत प्रस्थान गरेका सभापति लामिछानेले नयाँ दिल्लीमा रहँदा व्यापक राजनीतिक भेटघाट गरेका थिए। त्यस क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमान्ती अमित शाह, विदेशमन्त्री एस. जयशंकर र भाजपा अध्यक्ष नितिन नवीन लगायतका शीर्ष नेताहरूसँग द्विपक्षीय हितका विविध विषयमा छलफल गरेका थिए।
यस्तै, दिल्ली बसाइका क्रममा लामिछानेले भारतका लागि अमेरिकी राजदूत एवं दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोरसँग पनि महत्त्वपूर्ण कूटनीतिक संवाद गरेका थिए।




