चितवन, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन पूर्व-निर्धारित तालिका अनुसार आइतबारदेखि भरतपुरको गेस्ट हाउस चौरमा भव्य रूपमा सुरु भएको छ।
महाधिवेशनको औपचारिक उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले पार्टीको निर्वाचन चिन्ह घण्टी बजाएर उद्घाटन गरेका छन्। पार्टी स्थापनाकाल यताकै यो पहिलो महाधिवेशनमा देशभरबाट ४,२११ जना प्रतिनिधिहरूका साथै चितवन र वरपरका जिल्लाका पार्टी नेता, कार्यकर्ता एवं समर्थकहरूको ठूलो उपस्थिति रहेको छ।
उद्घाटन सत्रमा ऐक्यबद्धता जनाउन नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा, नेकपा एमालेका नेता प्रदीप कुमार ज्ञवाली, नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत लगायत देशका विभिन्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू महाधिवेशन स्थलमा उपस्थित भएका छन्।




