चितवन, असार ९ । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार सुरु भएको छ। नयाँ नेतृत्व चयनका लागि मतदान भने बुधबार हुने भएको छ।
महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण निर्धारित कार्यतालिकाभन्दा एक दिन ढिलो गरी बन्दसत्र सञ्चालनमा आएको हो। उक्त विवाद समाधान गर्ने जिम्मेवारी पार्टी सभापति रवि लामिछानेलाई दिइएपछि बन्दसत्र सञ्चालनको बाटो खुलेको थियो।
मंगलबार दिउँसो २ बजेका लागि तय गरिएको बन्दसत्र करिब डेढ घण्टा ढिलो गरी अपराह्न ३:३० बजे सुरु भएको हो। संशोधित कार्यतालिकाअनुसार बन्दसत्र साँझ ६:४५ बजेसम्म सञ्चालन हुनेछ। बन्दसत्रमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन, महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांगठानिक प्रतिवेदन तथा उपसभापति स्वर्णिम वाग्लेले अर्थ–राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार बन्दसत्र सम्पन्न भएपछि निर्वाचन प्रक्रिया सुरु गरिनेछ। नयाँ नेतृत्व चयनका लागि रास्वपाले ई–भोटिङ प्रणाली अपनाउने तयारी गरेको छ। विदेशमा रहेका महाधिवेशन प्रतिनिधिहरूले पार्टीको आधिकारिक एपमार्फत मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ।
निर्वाचनमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्य चयनका लागि ८० वटा विद्युतीय मतदान मेसिन प्रयोग गरिने आयोगले जनाएको छ। साथै, उम्मेदवारका प्रस्तावक तथा समर्थक बनेका व्यक्तिहरूलाई उम्मेदवारी दिन नपाउने व्यवस्था गरिएको निर्वाचन आयोगले स्पष्ट पारेको छ।
यसबीच, बन्दसत्र सुरु हुँदा पार्टीका वरिष्ठ नेता बालेन शाह उपस्थित नदेखिएपछि प्रतिनिधिहरू र राजनीतिक वृत्तमा चासो बढेको छ। महाधिवेशनको बन्दसत्र उद्घाटन भए पनि शाह कार्यक्रममा अनुपस्थित रहेको जानकारी प्राप्त भएको छ। उनको अनुपस्थितिको कारणबारे पार्टीले हालसम्म कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन।




