काठमाडौं, असार २९ । जल तथा मौसम विज्ञान विभागले आज (दिन र रात) को मौसम पूर्वानुमान सार्वजनिक गर्दै देशका अधिकांश क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना छ। मधेश प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा तराई क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।
आज राति पनि देशभर मौसम बदली रहने र धेरै स्थानमा वर्षा जारी रहने सम्भावना रहेको विभागले जनाएको छ। विशेषगरी कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
विभागले नदी–नाला आसपास बसोबास गर्ने नागरिक, पहाडी क्षेत्रमा यात्रा गर्ने तथा बाढी–पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।




