काठमाडौं, असार ३१ । आगामी बुधबारदेखि बजारमा १४.२ किलोग्राम तौल भएका खाना पकाउने ग्यास (एलपिजी) का पूर्ण सिलिन्डरहरू उपलब्ध हुने भएका छन्। नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार, निगमले ग्यास उद्योगहरूलाई बुधबारदेखि साविक बमोजिम नै १४.२ केजीकै सिलिन्डर भर्न निर्देशन दिएको छ।
नेपालमा इन्धन आपूर्ति गर्दै आएको इन्डियन आयल कर्पोरेसनबाट ग्यासको आपूर्तिमा सुधार भएपछि यो निर्णय लिइएको हो। यसैबीच, निगमले १४.२ केजीको प्रतिसिलिन्डर ग्यासको मूल्य रु २,०६० तोकेको छ।
अमेरिका, इरान र इजरायलबीचको तनाव (युद्ध) का कारण ग्यास आपूर्तिमा ठुलो कटौती भएपछि, नेपाल आयल निगमले चार महिनाअघि उपभोक्तालाई राहत दिन आधा तौल (७.१ केजी) का सिलिन्डर मात्र बिक्री वितरण गर्ने अनुमति दिएको थियो।




