काठमाडौं, साउन ३ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डाबाट सशस्त्र प्रहरी बलले ठूलो परिमाणको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कीर्तिपुर–९ निवासी ३९ वर्षीय अनिल देउला र उदयपुर घर भई हाल चन्द्रागिरी–४ नैकाप बस्दै आएकी २४ वर्षीया सुमित्रा राई रहेका छन्।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले अनिल देउलालाई ५० बक्समा रहेको १५ हजार ट्रामाडोल क्याप्सुल तथा उनले प्रयोग गरेको बा ७७ प ७८०० नम्बरको स्कुटर सहित नियन्त्रणमा लिएको हो।
अनिल बस्ने कोठामा खानतलासी गर्दा १,१८८ डाइजेपाम तथा फेनेरागन ट्याब्लेट, ३,७७० ट्रामाडोल, १५० पोलेन ट्याब्लेट, १ लाख ३९ हजार १६५ रुपैयाँ नगद र ३ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ। उक्त स्थानबाट सुमित्रा राईलाई पनि पक्राउ गरिएको हो।
बरामद लागूऔषध, नगद, स्कुटर र मोबाइलसहित दुवैलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।




