काठमाडौं, साउन १७ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेर नेपालको तराई भू-भाग नजिक रहेकाले वर्षाको गतिविधि अझ सक्रिय बनेको हो।
विभागका अनुसार हाल देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा कोशी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
रातिको समयमा भने वर्षा थप सक्रिय हुने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भू-भाग, मधेश प्रदेशका विभिन्न स्थान तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको विभागको पूर्वानुमान छ।
लगातारको वर्षासँगै गेग्रान बहाव, बाढी, पहिरो र भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। साथै वर्षाका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायात, पर्यटन र पर्वतारोहण गतिविधिमा समेत असर पर्न सक्ने भएकाले अत्यावश्यक कामबाहेक जोखिमपूर्ण यात्रा नगर्न र विभागबाट जारी हुने पछिल्ला मौसम सूचनाहरू नियमित रूपमा पालना गर्न अनुरोध गरिएको छ।




