कपिलवस्तु, साउन २४ । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर ६८ वर्षीय किरण सिंह शुक्रबार दिउँसोदेखि गोरुसिङ्गेको घनघोर जङ्गलबाट बेपत्ता भएका छन्। शुक्रबार बिहान तौलिहवास्थित आफ्नै निवासबाट निर्माणाधीन कृषि फार्म निरीक्षणका लागि निस्किएका सिंह अबेरसम्म घर नफर्किएपछि परिवार र सुरक्षा निकायले खोजी कार्यलाई तीव्रता दिएका हुन्।
पछिल्लो जानकारी अनुसार पूर्वमेयर सिंह शुक्रबार दिउँसो करिब ३:१५ बजे रामराज पुल नजिकैको सीसीटीभी फुटेजमा देखिएका थिए।
‘मलाई बचाइहाल’ भनेपछि फोन सम्पर्क विच्छेद
रिसोर्ट, बाख्रा/कुखुरा फार्म तथा माछापालनको साझेदारी योजनामा काम गरिरहेका सिंहले शुक्रबार दिउँसो आफन्त र व्यावसायिक साझेदारलाई फोन गरी ‘आफू जङ्गलमा बाटो बिर्सिएर अलपत्र परेको’ जानकारी गराएका थिए।
त्यसपछि साँझ तिलौराकोट साझेदारी समूहका सदस्य बलराम तिवारीले फोन गर्दा सिंहले आत्तिँदै “मलाई बचाइहाल, बचाइहाल” मात्र भनेका थिए। करिब ११ सेकेन्डको यो कुराकानीपछि फोन काटिएको र साँझ ६ बजेपछि उनको मोबाइल स्विच अफ भएको प्रहरीले जनाएको छ।
साँझ ६ बजे घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली खोजीमा खटिएको थियो। खोजीका क्रममा उनले प्रयोग गरेको लु.प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल पूर्व–पश्चिम राजमार्गबाट करिब ८ किलोमिटर भित्री भागमा पर्ने गोरुसिङ्गे (ढेकहरी) जङ्गल क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको छ।
प्रेसर र दमको समस्याका कारण सिंह धेरै हिँड्न सक्ने अवस्थामा थिएनन्। जिल्ला प्रहरी प्रमुख मनोहरप्रसाद भट्टका अनुसार घरबाट लगिएका पुराना कपडा सुँघाएर तालिमप्राप्त स्निफर डग, प्रहरी र स्थानीयवासीको टोलीले शनिवार मध्यरातसम्म खोजी गर्दासमेत उनको अत्तोपत्तो पाउन सकिएन। आइतबार बिहानैदेखि पुनः खोजी टोली परिचालन गरिएको छ।
नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित भई पाँच वर्ष कपिलवस्तु नगरपालिकाको मेयर चलाएका सिंह घरमा श्रीमतीसँग बस्दै आएका थिए। उनका दुई छोरामध्ये एक जना जापान र अर्का भारतमा छन्।




