कपिलवस्तु, साउन २४ । शुक्रबारदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली काङ्ग्रेसका नेता किरण सिंह मृत अवस्थामा भेटिएका छन्। ६५ वर्षीय सिंहको शव आइतबार गोरुसिङ्गे, तिलौराकोट सामुदायिक जङ्गलको बीच भागमा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख मनोहरप्रसाद भट्टका अनुसार शुक्रबारदेखि जारी निरन्तर खोजीका क्रममा आइतबार जङ्गलको भित्री भागमा सिंहको शव फेला परेको हो।
सिंह शुक्रबार दिउँसो अन्दाजी २ बजेतिर कपिलवस्तु–३ स्थित आफ्नै घरबाट निर्माणाधीन कृषि फार्म निरीक्षणका लागि निस्किएका थिए। दिउँसो करिब ३:१५ बजे रामराज पुल नजिकैको सीसीटीभी फुटेजमा देखिएका सिंहले त्यसपछि साझेदारलाई फोन गरी जङ्गलमा बाटो बिराएको बताएका थिए। साँझ व्यावसायिक साझेदारसँगको फोन संवादमा आत्तिँदै “मलाई बचाइहाल, बचाइहाल” भनेलगत्तै उनीसँगको सम्पर्क विच्छेद भएको थियो।
खोजीका क्रममा पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्री जङ्गल क्षेत्रमा उनले प्रयोग गर्ने लु.प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा फेला परेको थियो। उच्च रक्तचाप र दमका बिरामी रहेका सिंहको खोजीका लागि नेपाल प्रहरी, स्थानीयवासी र तालिमप्राप्त स्निफर डग परिचालन गरिएको थियो।
नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित भई पाँच वर्ष नगर प्रमुख चलाएका सिंहका दुई छोरामध्ये एक जना जापान र अर्का भारतमा छन्। प्रहरीले शवको कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।




